भारतमा बजारकाे काराेबार अवधि डेढ घण्टा बढ्ने भयाे |

काठमाडौं । बुधबार भारतमा रिजर्भ बैंक अफ इण्डिया (आरबिआई) ले बजारको कारोबार समय बढाउने घोषणा गरेको छ। अब स्थानिय बजारमा कोरोना पहिलेको जस्तै कारोबार हुने भएको छ।
आरबिआईको यो निर्णय अर्को हप्ता सोमबार अर्थात १२ डिसेम्बरदेखि लागू हुने बताइएको छ। यो निर्णय पछि,कल/नोटिस/टर्म मनी, कमर्शियल पेपर र सर्टिफिकेट्स अफ डिपोजिट्स, कर्पोरेट बण्डमा रिपो र रुपी इन्ट्रेस्ट रेट डेरिभेटिभहरूमा कारोबार अवधि डेढ घण्टा थप हुनेछ।
मनीकन्ट्रोलको प्रतिवेदनअनुसार दुई वर्षअघि कोरोना महामारीको समयमा ७ अप्रिल, २०२० मा कारोबार अवधि कटौती गरिएको थियो। कोरोनाका कारण जनजीवन अस्तव्यस्त बनेका र स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएकाले यस्तो निर्णय गरिएको थियो। अब स्थिति सामान्य बनेपछि आरबिआईले चरणबद्ध रूपमा ट्रेडिङ अवधि फिर्ता ल्याउन थालेको हो। यस अघि, गत १८ अप्रिल, २०२२ मा, रेगुलेटेड मार्केट अवधिको लागि बजार खुल्ने समय बिहान ९ बजे गरिएको थियो। अहिले यसलाई पूर्ण रुपमा कोभिडभन्दा अघिको समय अनुरुप गर्ने घोषणा गरिएको हो जुन डिसेम्बर १२ देखि लागू हुनेछ।
यस्तो हुनेछ नयाँ समय तालिका
हाल, कल/सूचना/टर्म मनी मार्केट बिहान ९ बजेदेखि साढे ३ बजेसम्म सञ्चालन हुन्छ। डिसेम्बर १२ पछि,समय परिवर्तन भएर बिहान ९ बजे देखि साँझ ५ बजेसम्म हुनेछ। गभरमेन्ट सेक्यूरिटीमा रिपो बजार अहिले बिहान ९ बजेदेखि दिउँसो २ः३० बजेसम्म चलिरहेको छ। आगामी साता सोमबारदेखि पनि बिहान ९ बजेदेखि दिउँसो २ः३० बजेसम्म मात्र कार्य हुनेछ। कमर्सियल पेपर र सर्टिफिकेट अफ डिपोजिट्स मार्केटमा अहिले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म कारोबार हुने गरेकोमा सोमबारदेखि बिहान ९ बजेदेखि ५ बजेसम्म कारोबार हुनेछ।
कर्पोरेट बण्ड रिपोको समय पनि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। अहिले विहान ३ बजेदेखि दिउँसो ३ः३० बजेसम्म कारोबार भइरहेको रुपी इन्ट्रेस्ट डेरिभेटिभ, सोमबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कारोबार हुनेछ।