बाराही हाइड्रोपावरको आइपीओ निष्काशन तथा बिक्री खुला |
काठमाडौं । बाराही हाइड्रोपावरको आइपीओ आज बुधबार मंसिर २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी उक्त सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । अर्थात, प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
यसमध्ये ५% अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा एनआइबीएल एस क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । रेटिङ इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । इक्र नेपालले २०७८ फागुन १३ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०७९ फागुन १२ गतेसम्म बाहल रहनेछ ।