खुल्यो विलासी वस्तुको आयात, गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा |

काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषदले गरेको हो ।
यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
यसबारे अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालय विभिन्न चरणमा छलफल गरेका थिए । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिबन्ध औपचारिक रुपमा हट्नेछ ।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरु निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।