सानिमा बैंकको शेयरमूल्य समायोजन |
काठमाडौं । मंसिर १९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २४७ रुपैयाँ १८ पैसा कामय भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, बैंकको शेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन बैंकको शेयर कारोबार खुल्नेछ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।