नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मचेन्ट आबद्ध |

काठमाडौं । बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक मार्फत नेपाल पे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । ४ महिनाको छोटो समयमा १ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध भएको कम्पनीले जनाएको छ ।
नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो ।
व्यावसायिक ग्राहकले नेपाल पे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न बैंक वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ । अहिले एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनसिसि बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक,स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवाबिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, सम्वृद्धि फाइनान्स लगायतमा यो सेवा उपलब्ध छ ।
अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेट एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान छ ।