भारतीय सेयर बजार लगातार आठौं दिन बढ्यो |
काठमाडौं । भारतीय सेयर बजार लगातार आठौं दिन पनि बढेको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ लगातार आठौं दिन बढेर ६३,२८४ विन्दुमा बन्द भएको छ ।
जुन सेन्सेक्सको हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । इन्ट्रा डे कारोबारमा भने सेन्सेक्स ६३,५८३ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो । यता, अर्को ‘निफ्टी ५०’ सूचक पनि हालसम्मकै उच्च विन्दुमा १८,८१२ विन्दुमा बन्द भएको हो । इन्ट्रा डे कारोबारमा निफ्टीले पनि १८,८८७ को अल टाइम हाई विन्दु छोएको थियो ।
पछिल्लो ८ वटा कारोबार सेसनमा सेन्सेक्स २,४३८ अंकले बढेको छ । उक्त ८ कारोबार दिनमा भारतीय लगानीकर्ताहरुको सम्पति ९० खर्ब भारतीय रुपैयाँ (भारु) ले बढेको छ । अर्थात, बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण नोभेम्बर २१ मा २८१ लाख करोड भारु रहेकामा ९ लाख करोड भारुले बढेर बिहीबार २९० लाख करोड भारु पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र अमेरिकी फेडरल रिजर्भले ब्याजदर वृद्धिको गती कम गर्ने बताएपछि भारतीय सेयर बजार पनि सुधार भएको हो ।