अर्जेन्टिनाद्वारा मेक्सिको पराजित, जीतसँगै समूहको दोस्रो स्थानमा |
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आइतबार भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराउँदै समूह डि को दोस्रो स्थानमा पुगेको छ।
सो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई दुई गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित रहेको सो खेलको दुबैं गोल दोस्रो हाफमा भएको हो। खेलको ६४ औँ मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको थियो। त्यसैगरी, खेलको ८७ औँ मिनेटमा फर्नान्डिजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरेका थिए।
जितसँगै अजेन्टिना समूहको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेल साउदी अरबसँग हारेको अजेन्टिना गोल अन्तरका कारण दोस्रो स्थानमा पुगेको हो। यस समूहमा रहेको साउदी अरबको पनि ३ अंक नै छ। सो अघिको खेलमा साउदी अरब पोल्याण्डसँग २ गोलले पराजित भएको थियो।
अर्को चरणमा जानका लागि यी दुबै राष्ट्रले जित्नै पर्ने दबाब छ। अर्जेन्टिनाले अर्को खेलमा पोल्याण्डको सामना गर्नेछ भने साउदी अरबले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ।