जनवरीबाट सुर्खेतमा बुद्ध एयरको एटिआर–७२ ले उडान गर्ने |
काठमाडौं । बुद्ध एयरले बुधबार सुर्खेतमा एटिआर–७२ जहाजमार्फत परीक्षण उडान गरेको छ। नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्धले बुधबार सुर्खेतमा उक्त जहाजमार्फत परीक्षण उडान गरेको हो।
१ फेब्रुअरी २०१३ देखि ब्रीचक्राफ्ट जहाजमार्फत सुर्खेत उडान सुरू गरेको बुद्धले जनवरी २०२३ देखि एटिआर–७२ जहाजमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने जनाएको छ।
बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यात्रुको माग र भाडादर कम गराउने उद्देश्यले कम्पनीले ठूलो जहाज प्रयोग योजना अगाडि बढाएको बताएको छ।
एटिआर–७२ जहाजमार्फत उडान गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ महसुस हुने गरी नेपालगञ्ज सेक्टर हाराहारीमा न्यूनतम भाडादर कायम हुने विज्ञप्तीमा उल्लेख छ।
'सुर्खेत उडान गर्ने यात्रुहरूको मागअनुरूप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर–७२ मार्फत उडान सञ्चालन आवश्यकता महसुस भएकाले र हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडादरमा पर्ने गरेको छ' विज्ञप्तीमा भनिएको छ।
कम्पनीले यात्रुहरूलाई कम भाडादरका साथै थप सिटहरू उपलब्ध गराइ सेवा विस्तार गर्ने उद्देश्यले एटिआर–७२ मार्फत उडान गर्न लागेको हो।
त्यस्तै, व्यावसायिक योजनाअनुसार आगामी डिसेम्बरभित्र दुईवटा एटिआर–७२ सिरिजको जहाज थप्न लागेको कम्पनीले जनाएको बताएको छ।