नेपालको आयात र निर्यात दुवै घट्यो |
काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार आयात र निर्यात दुवै खुम्चिएको हो ।
चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको ३ महिनामा नेपालको निर्यात ३५.७ प्रतिशतले खुम्चिएको छ । यससँगै, नेपालको कूल निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँमा सीमित बनेको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपालको निर्यात १०९.५ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ४५ प्रतिशतले र र चीनतर्फ ३५ प्रतिशतले निर्यात खुम्चिएको छ । यस्तै, अन्य मुलुकतर्फको निर्यात ५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । नेपालबाट जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, सुनचाँदीका सामान तथा गरगहनाको निर्यात घटेको छ ।
यस्तै, यस अवधिमा नेपालको आयात समेत खुमिचएको छ । ३ महिनाको अवधिमा गत वर्षको तुलनामा आयात १६.।२ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालको आयात ४ खर्ब १ अर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको आयात ६३.७ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयात १४.८ प्रतिशतले घटेको छ । यस्तै, चीनतर्फको आयात १६.७ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात १९.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन, स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्टस, कच्चा सोयाबिन, एमएस तार, छड, बार क्वाइल लगायतका वस्तुको आयात घटेको तथ्यांकले देखाएको छ ।