जोशीलाई एमालेले साथ नदिएपछि रामचन्द्रलाई सहज बाटो |
काठमाडौं । तनहुँ १ मा नेकपा एमालेले पनि उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि बाटो केही सहज भएको छ ।
एमालेको समर्थनमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशीले उम्मेदवारी भएको भए पौडेललाई कठिन हुने अड्कलबाजी भइरहेको थियो । एमालेले आफ्नै उम्मेदवार उठाएको छ पौडेलसँग प्रतिस्पर्धा गर्न एमालेबाट एकबहादुर रानाले उम्मेदवारी दिएका छन् ।
पौडेल कांग्रेसको शीर्ष तहको नेता भएको लाभ उनका लागि त छँदैछ । विभिन्न समय मन्त्रिपरिषद्मा समेत सहभागी भएकाले राज्य सञ्चालनको अनुभव पनि उनीमा छ । गठबन्धनका दलहरुको शीर्ष नेताहरु सम्मिलित कार्यदललाई कौशलतापूर्वक उनले सञ्चालन गरिरहेका छन् । विचारले खारिएका नेता पौडेलका अघि एमालेबाट जिल्ला तहका नेता प्रतिस्पर्धी बनेका छन् ।
भावी सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका पौडेललाई तनहुँ १ का मतदाताले जिताएर पठाउने जिल्ला सभापति जीतप्रकाश आलेले बताए । पौडेलका लागि अप्ठ्यारो परिस्थिति नरहेको आलेले दाबी गरे । माओवादी केन्द्र र एकीकृत समाजवादीको मत समेत थपिने हुँदा पौडेलका लागि थप सहजता हुने भएको छ ।
पौडेलको चुनौती हुने ठानिएका गोविन्दराज जोशीलाई एमालेले नपत्याएपछि पौडेल छैटौंपटक जित्ने बाटो खुलेको छ । २०७४ सालमा पार्टी हित विपरित काम गरेको भन्दै जोशीलाई कांग्रेसले अनुशासनको कारबाही गरेको थियो । गत स्थानीय तहको निर्वाचनमा एमालेको समर्थनमा व्यास नगरपालिकामा जोशीका पुत्र दीपकराज जोशी उम्मेदवार बनेका थिए । कांग्रेस उम्मेदवारसँग जोशी पराजित भएका थिए । एमालेको सहयोगमा समेत तत्कालीन समयमा जोशीले जित निकाल्न सकेका थिएनन् । प्रतिनिधि सभामा सदस्यको उम्मेदवार बनेका गोविन्दराजलाई यसपटक एमालेले समर्थन गरेन । एमालेले जोशीलाई समर्थन नगरेपछि स्वतः मत बाँडिने अवस्था बनेको छ । जोशीले एमालेको मत एकिकृत गर्न नसकेसँगै त्यसको लाभ पौडेलले उठाउने छन् ।
२००१ मा तनहुँको रिस्तीमा जन्मेका पौडेल २०४८ साल देखि जित्दै आएका नेता हुन् । गत निर्वाचनमा भने उनको जितको यात्रामा ब्रेक लागेको थियो । तत्कालीन समयमा वामगठबन्धनबाट उठेका किसन श्रेष्ठले कांग्रेस उम्मेदवार पौडेललाई हराएका थिए । अघिल्लोपटक जितेको आधारमा पाउनुपर्ने क्षेत्र एकीकृत समाजवादीले पौडेलका लागि छोडिदिएको छ । गत निर्वाचनमा यस क्षेत्रमा विजयी श्रेष्ठ बारा ४ बाट उम्मेदवार बनेका छन् । पौडेललाई तत्कालीन समयमा एमालेका उम्मेदवार श्रेष्ठले ६ हजार ८०२ मतले पराजित गरेका थिए ।
वैशाख ३० मा भएको स्थानीय तहको मतले आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो शक्ति हो । वडाध्यक्षले पाएको मत योग निकाल्दा यस क्षेत्रमा कांग्रेसले ३३ हजार १०६ मत पाएको थियो । पौडेललाई गठबन्धनका दलहरुको पनि साथ छ । नेकपा माओवादी केन्द्रले ८ हजार ४७४ र नेकपा एसले ८९२ मत ल्याएका थिए । एमालेले २२ हजार २१० मत पाएको थियो ।
तनहुँ १ मा देबघाट, आँबुखैरनी, बन्दीपुर, भानुको सबै भाग र व्यास नगरपालिकाको १ देखि ४ र ७ देखि ११ सम्मका वडाहरु पर्दछन् । यस क्षृेत्रमा एमालेले गत स्थानीय निर्वाचनमा बन्दीपुरमा मात्रै जितेको थियो । आँबुखैरनीमा माओवादी केन्द्र र अन्यमा कांग्रेसका उम्मेदवार प्रमुुख पदमा विजयी भएका छन् ।