भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्ने दौडमा |
भारतीय अर्बपति मुकेश अम्बानी बेलायतको चर्चित फुटबल क्लब ‘लिभरपुल एफसी’ किन्ने दौडमा आएका छन् । भारतको दोस्रो तथा विश्वको आठौं सर्वाधिक धनी अम्बानीले क्लब खरिदका लागि लिभरपुल फुटबल क्लबसँग सम्पर्क गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
लिभरपुलको हालको मालिक फेनवे स्पोर्टस् गु्रप (एफएसजी) ले क्लबलाई बिक्रीमा राखेपछि विभिन्न समूह र व्यक्तिहरुले खरिदका लागि इच्छा देखाएका छन् । यसै दौडमा अम्बानी पनि आएका हुन् ।
फेनवेले लिभरपुललाई सन् २०१० मा किनेको थियो । फेनवेले १२ वर्षपछि लिभरपुललाई बिक्री गर्न लागेको हो । एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ अर्ब ब्रिटिस पाउण्ड तोकेको छ । यता, क्लब खरिदको विषयमा अम्बानी र उनको कम्पनी रिलायन्सले भने केही खुलाएको छैन । एफएसजीको १२ वर्षमा लिभरपुलले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, काराबाओ कप र युरोपियन सुपर कपलगायत शीर्ष उपाधिहरु जितिसकेको छ ।
यता, अम्बानीको कम्पनी इन्डियन प्रिमियर लिग (आइपीएल) क्लब मुम्बई इन्डियन्सको मालिक हो । रिलायन्सले भारतीय फुटबल महासंघसँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।