धनुषा–४ ː कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र एमालेका सचिव रघुवीर महासेठ बिच कडा टक्कर |

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको निर्वाचन क्षेत्र हो । पहिलो ५ वटा क्षेत्र रहेको धनुषा ५ बाट डा रामबरण यादव २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र भए ।
विगतको क्षेत्र नम्बर ५ को अधिकांश भुगोल समेटिएर बनेको अहिले धनुषा ४ बनेको छ । यो क्षेत्रमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव उम्मेदवार बनेका छन्। रामवरणका छोरा चन्द्रमोहन यादव भने समानुपातिकको बन्द सूचीमा परेका थिए । तर, उनले नाम फिर्ता लिए । नेकपा एमालेका तर्फबाट यो क्षेत्रमा हेभिवेट सचिव रघुवीर महासेठ छन् ।
२०७४ सालको निर्वाचनमा २५ सय ४१ मतको अन्तरले महासेठले यादवलाई हराएका थिए । ६१ वर्षीय महासेठले २२ हजार ५३२ मत ल्याएउँदा ६० वर्षीय यादवले १९ हजार ९ सय ९१ मत ल्याएका थिए । तेस्रो स्थानमा तत्कालिन् संघीय समाजवादी फोरमबाट महाजन यादवले १९ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रमा जम्मा पाँच वटा पालिका पर्छन् । ती मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिका एमालेले जितेको छ ।
स्थानीय तहको चुनावमा नेपाली कांग्रेस सवैभन्दा ठूलो दल छ । ती मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिका एमालेले जितेको छ ।
यस क्षेत्रमा जम्मा ४२ वटा वडा पर्छन्। गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २५ हजार १९५ मत पाएका छन् भने एमाले उम्मेदवारले २३ हजार ६३० मत पाएका थिए। जसपाले ८ हजार ३७८ पाएको छ। एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४३४, लोसपाले २ हजार १८४ र जनमत पार्टीले १ हजार ९५० मत पाएका थिए।
यसरी कांग्रेस, एकीकृत समाजवादी, माओवादी र लोसपाको मत जोड्दा प्रतिनिधिसभामा महेन्द्र बलिया देखिन्छन्। यसरी कांग्रेस, एकीकृत समाजवादी, माओवादी र लोसपाको मत जोड्दा प्रतिनिधिसभामा महेन्द्र बलिया देखिन्छन्। चारवटै दलको मत जोड्दा ३९ हजार ९७७ मत पुग्छ।
गठबन्धनको यो भोट बाँडिएन भने रघुवीरलाई जित्न मुस्किल देखिन्छ । यसअघि माओवादीसँग मिल्दा २२ हजार भोट ल्याएर जितेको एमालेको भोट स्थानीय चुनावसम्म आइपुग्दा बढेको छ । अहिले एमालेको भोट मात्र साढे २३ हजार पुगेको देखिन्छ । जसपाका महाजनभने प्रतिस्पर्धामा पछि देखिन्छन् ।
यो क्षेत्रमा यसपालि पनि नागरिकताको विषय पेचिलो चुनावी एजेण्डा बनेको छ । बुवाको जन्मसिद्ध नागरिकता भएका कारण छोराछोरीले नागरिकता नपाएको समस्या पनि धनुषा जिल्लामै यस क्षेत्रमा सबैभन्दा बढी छ । एमालेकै मिलिमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेको आम बुझाईका कारण पनि यो मुद्दाले पनि रघुवीरलाई समस्या हुने आँकलन गरिएको छ । महेन्द्र, महाजन र कृष्णा तिनैजना उम्मेदवार यो मुद्दालाई जोडतोडले उठाइरहेका छन्।
महेन्द्रले मतदातासँग भन्ने गरेका छन्, ’महासेठले चुनाव जितेर केही गरेका छैनन् । मलाई जिताउनुस्, विकास गर्छु ।’ उनी जनताले आफूलाई नजिकबाट चिनेकाले जित निश्चित रहेको दाबी गर्छन्। ‘जनता नजिकबाट मलाई चिन्छन् बुझ्छन्। म सानैदेखि दुख गरेर नेता भएको हुँ। जनसम्पर्क राम्रो छ। मेरो प्रतिस्पर्धी रघुवीर सामन्ती स्वभावका हुन्। राजनीतिलाई धन्धा बनाएका छन्। श्रीमान् श्रीमती दुवै मन्त्री हुँदा राम्रो काम गर्न सकेनन्,’ उनले भने, ’जनतामा राम्रो छाप छैन। पञ्चायतकलमा हेमबहादुर मल्ल र शारदा मल्ला जस्तै श्रीमान् श्रीमति नै पैसाको बलमा नेता बनेका छन्। नागरिकता मधेशको ठूलो समस्या छ। तर उनी विरुद्धमा छन्। जनताले रघुवीरको विकल्प चाहन्छन्। यस कारण जनताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु।’
महासेठको दाबी पनि उस्तै छ । आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्रे, खोलाहरूमा पुल लगायतको विकास निर्माण गरेको हुँदा जनताले फेरी पनि आफूलाई जिताउने तर्क उनको छ। ’पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो। तर म निर्वाचित भएपछि छोटो समय मै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे,’ उनले भने, ’एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन। त्यसैले म प्रति जनताको ठूलो विश्वास छ। यो नै मेरो जित्ने बलियो आधार छ।’