टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी बन्दै |
काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको छ।
यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्छ।
यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ।
जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत एक हजार (कर बाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ।
यसैगरी, ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा २ हजार पाँच सय (कर बाहेक) मा पाँच दिन भित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ।
यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पाँच हजार (कर बाहेक) मा १० दिन भित्रमा जम्मा १० हजार हजार वटा सन्देश पठाउन सकिने कम्पनीले बताएको छ।
यस अफरमा कम्पनीको नेटवर्कभित्र मात्र सन्देश पठाउन सकिन्छ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनु पर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले बताएको छ।
यो सेवा प्रयोग गर्नका लागि वेबसाइट लगइन गरी प्याकेज खरिद गर्न सकिने छ।