एफएनसीसीआईले चुनावसम्म स्थगित गर्यो केन्द्रीय बैंक विरुद्धको आन्दोलन |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले चुनावसम्मका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । महासंघले आफ्ना सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई पनि हाल जारी आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । ब्याजदर बढाउने र समग्र अर्थतन्त्रलाई नै अस्थिरतातर्फ धकेल्ने काम गरेको भन्दै व्यवसायीहरु गभर्नरविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । महासंघ सरकार र राष्ट्र बैंकसँग निरन्तर संवादमा रहेको भन्दै अहिलेलाई आन्दोलन स्थगित गरेर निर्वाचन सफल पार्न आ–आप्mनो क्षेत्रबाट सहयोग पु¥याउन महासंघले भनेको छ ।
तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष जोडदार माग गरेको छ । बजारको न्यून मागका कारण व्यापार व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकबाट केन्द्रीय बैंकले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ, बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहनेछ । वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ । निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्नेछ, महासंघले भनेको छ ।