रामेछापमा कान्छाराम तामाङलाई विजय सहज बन्दै |
काठमाडौ । एक लाख ८४ हजार मतदाता रहेको रामेछाप जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छराम)एमालेका उम्मेदवार भन्दा धेरै अगाडि छन् । गत स्थानीय तहमा दलहरुले ल्याएको भोटलाई आधार मान्ने हो भने तामाङ एमालेका उम्मेदवार भन्दा ३० हजार भोटले अगाडि छन् ।
तामाङसँग एमालेका उम्मेदवार कैलाश ढुंगेल प्रतिष्पर्धा गर्दै छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर घिसिङ तथा नेपाल मजदुर किसान पार्टीबाट हरिकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन् । तर प्रमुख प्रतिष्पर्धा तामाङ र ढुंगेलवीचमै हुनेछ । गत स्थानीय तहमा वडा अध्यक्षमा पार्टीहरुले ल्याएको भोट हेर्दा रामेछापमा नेपाली कांग्रेसको भोट ४१ हजार ५१ छ । नेकपा (एमाले) को ३९ हजार ३३ छ । यसैगरी माओवादी २७ हजार ३९, तथा नेकपा (एस) १ हजार ५सय ७० तथा राप्रपाको ९ सय ३५ भोट छ । ‘हामी ३० हजार भन्दा धेरै भोटको फरकले चुनाव जित्दैछौ’, तामाङले भने,‘अहिले रामेछापमा नेपाली कांग्रेसको पक्षमा माहौल ह्वात्तै बढेको छ ।’
प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारवीचमा प्रष्तिपर्धा छ, तर प्रदेश सभाको एक क्षेत्रमा भने माओवादी र नेकपा (एस)का उम्मेदवारहरू आपसमा भिड्दैछन ।
रामेछापमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेश सभाका दुबै क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । तर केन्द्र र प्रदेश दुबैमा एउटा पनि सिट नपाए पछि नेकपा (एस)ले केन्द्र र प्रदेश गरी तीन वटै सिटमा छुट्टै उम्मेदवारी दिएको छ । केन्द्रमा दिएको उम्मेदवारीलाई नेकपा (एस) ले निष्कृय पारेको छ भने प्रदेश सभाको हकमा भने रामेछाप (क)मा दिएको उम्मेदवारीलाई भने एसका नेताहरूले अझै सक्रिय बनाएका छन । रामेछाप (क)मा जसरी पनि जित्ने गरी एसका नेताहरले प्रचार सुरु गरेका छन् । यस क्षेत्रमा अहिले माओवादी र एसका उम्मेदवारवीचमै प्रतिष्पर्धा छ ।
प्रदेश सभामा रामेछाप (क) मा नेकपा (एस) बाट उम्मेदवारी दिएका रमेश बस्नेत पार्टीको आधिकारिक उम्मेदवार भएको एसका पोलिटव्युरो सदस्य तथा रामेछाप इन्चार्ज देबशंकर पौडेलले बताए । बस्नेत विजय हुने सत प्रतिशत सुनिश्चित भएको उनको भनाइ छ ।
‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधि सभा र प्रदेश सभाको रामेछाप (ख)को उम्मेदवारी निष्कृय बनायौ’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो । त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ ।’ पौडेल आफैले पनि प्रतिनिधि सभामा नेकपा (एस)को तर्फबाट उम्मेदवारी दिएका छन् तर पार्टीको निर्देशन बमोजिम उनले आफ्नो उम्मेदवार निष्कृय बनाएका छन । यसैगरी रामेछाप (ख)मा दिइएको उम्मेदवारीलाई पनि निष्कृय बनाउन लगाएका छन । तर (क) मा भने केन्द्रको निर्देशनलाई एसका स्थानीय नेताहरुले मानेनन । बरु प्रचार प्रसारलाइ अझै तीब्र बनाएका छन् ।
प्रदेश सभा तर्फ रामेछाप (क)मा माओवादीबाट तारानारायण श्रेष्ठ, एमालेबाट शान्तिप्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिक्मत सुनुवारले उम्मेदवारी दिएका छन् । यसैगरी रामेछाप (ख)बाट एमालेका मिलनकुमार घिसिङ, माओवादीका युवराज चौलागाइ तथा एसका झम्कबहादुर कँडेलले उम्मेदवारी दिएका छन् । कँडेलले आफ्नो उम्मेदवारी निष्कृय बनाएका छन् । प्रदेश सभा (क)मा मुख्य प्रतिष्पर्धा एमाले, माओवादी र एसवीच हुने भएको छ भने (ख )मा माओवादी र एमालेवीच प्रतिष्पर्धा हुने भएको छ । रामेछापमा प्रतिनिधि सभामा ५ जना स्वतन्त्र छन । तर मतदाताहरूमा चर्चा र चासो भने प्रमुख दलका उम्मेदवारहरूकै छ । यसैगरी प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूको चर्चा र नाम छैन ।
प्रमुख दलका उम्मेदवारहरू अहिले घरदैलो कार्यक्रमम व्यस्त छन । केही उम्मेदवाररू साना साना कार्यक्रम गरी जनतालाई आकर्षित गर्ने गरेका छन तर रामेछापमा स्वतन्त्र उम्मेदवारहरु भने काँही भेटिन्नन । रामेछापमा प्रतिनिधि सभा तर्फ विक्रम लामा, चन्द्रबहादुर राउत, आङछेम्वो शेर्पा, कृष्णबहादुर भुजेल, रामकुमार लामाले उम्मेदवारी दिएका छन् । यी उम्मेदवारको चर्चा हुने गरेको छैन ।
प्रमुख जिल्ला अधिकारी भन्छन, शान्ति सुरक्षामा कुनै समस्या छैन
रामेछाप जिल्ला भरी शान्ति सुुरक्षाको पूरै व्यवस्था मिलाइएको रामेछापका प्रमुख जिल्ला अधिकार शोभाखर रेग्मी बताउछन । उनका अनुसार चुनाव बहिस्कार गर्ने समुह र पार्टीका कार्यकर्ताहरुको गतिवधिमाथि निगरानी गर्ने काम भइरहेको छ । ‘सुरक्षा निकायका प्रतिनिधिहरूसँग नियमित बैठक गरीरहेको छु । शान्ति सुरक्षामा कुनै समस्या आउन दिन्नौ’रेग्मीले भने । रेग्मीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मागे कर्मचारीको विवरण पठाउने काम पनि पूरा भएको छ ।