एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेको पुर्ननियुक्त |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फेरि रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । यो निर्णय मंसिर १५ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट सो बैंक जोडिएका थिए । त्यसपछि न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैँकको नेतृत्व सम्हालेपछिका छोटो अवधिमा नै बैँकले उनलाई सीईओको जिम्मेवारी दिएको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैँकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत परिचित भएका थिए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा बैँकलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन् ।