अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेट |
काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए ।
‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ उनले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा गरे ।
युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे । त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्नुहुँदै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गरे ।
जवाफमा राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए । ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, उनले भने । भेटका अवसरमा थम्पनसनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताएका थिए ।
राजदूत थम्पसनले यसअघि मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए ।