भारतले हटायो नेपाल आउने धानमा लगाएको भन्सार शुल्क |
वीरगञ्ज । भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो ।
भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ ।
यसअघि भारत सरकारले २३ भदौमा सूचना जारी गरेर नेपालको लागि समेत धान निर्यात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो । सूचना जारी भएलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल चामल, दाल, तेल संघले विरोध जनाएको थियो ।
संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा गई नेपालका लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएर शून्य भन्सारमा झार्न पहल गर्दै आएको थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भारतले धानको निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएपछि चामल उद्योगीलाई राहत मिलेको बताए ।
भारतले जारी गरेको सूचनामा धान, भुसी (खैरो) चामल, अर्ध-मिलेको वा पूर्ण-मिलेको चामल, पोलिस गरिएको वा ग्लेज्ड अथवा उमालेको चामल र बासमती चामल बाहेकमा भन्सार नलाग्ने उल्लेख गरेको छ । यस्तै अर्गानिक गैर-बासमती चामल निर्यातमा पनि भन्सार लाग्दैन । तर त्यसका लागि ४ वटा शर्त राखिएको छ ।
९ सेप्टेम्बर २०२२ भन्दा यता भन्सारमा आएका धानमा पनि भन्सार लाग्ने छैन । धान नेपाल निर्यात गर्दा रक्सौलस्थित भन्सार स्टेसन, जोगबनी वा सुनौली जताबाट गरे पनि ६ लाख मेट्रिक टन भन्दा बढी गर्न नपाउने शर्त छ ।
लेटर अफ क्रेडिट ९ सेप्टेम्बर २०२२ बाट मात्रै खोलिने उल्लेख गर्दै त्यसअघि नै भारतीय र विदेशी बैंक बीच विनिमय भइसक्नुपर्ने लगायत शर्त राखिएको छ ।