कात्तिक २३ गतेबाट नबिल फ्लेक्सी क्याप फन्डको बिक्री खुला हुने |
काठमाडौं । नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । यस क्यापिटलले ‘नबिल फ्लेक्सी क्याप फन्ड’ नाममा कुल ७ करोड ५० इकाई निष्कासन गर्न लागेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।
बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । यसमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा मंसिर ७ गतेसम्म खुला रहनेछ ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।