खाना पकाउने रियालिटी शो ‘सेफ नेपाल’ मंसिरदेखि |

काठमाडौं । नेपाल मै पहिलो पटक खाना पकाउने प्रतिस्पर्धात्मक रियालिटी टिभी शो ‘सेफ नेपाल’ मंसिरदेखि सुरू हुने भएको छ । शोको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराउँदै मंसिर महिनादेखि प्रतियोगिता सुरू गर्ने जनाएको हो ।
शो को रेकर्डिङ तिहारपछि सुरू हुने र यसको अनलाइन अडिसनका क्रममा २०० भन्दा बढी आवेदकहरुले यस प्रतियोगितामा सहभागी हुन आवेदन दिएको आयोजकले जनाएको छ । शो मध्येबाट ८० प्रतियोगी छनोट गरी यस ‘सेफ नेपाल’ शो को युट्युब च्यानलमा प्रशारण गरिएको छ ।
‘सेफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरको खाना पकाउने कला सम्बन्धी शो हो । सन्जिव कपुरको खाना खजाना लगायतको भारतीय टेलिभिजनका शोहरु, बीबीसी को मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचन, लगायत विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखहीरुले अब नेपालको आफ्नै शोबाट आनन्द एवं मनोरञ्जन प्राप्त गर्नेछन् ।
यो शोले नेपाली फुड कल्चर र फुड इकोसिस्टमको विश्व सामु प्रतिनिधित्व गर्नेछ । रियालिटी शोहरु मध्ये खाना पकाउने कृयाकलाप दर्शक माझ सबैभन्दा धेरै हेरिने कार्यक्रममा पर्दछ । त्यस्ता विदेशी कार्यक्रम र विदेशी रेसिपीमा चित्त बुझाउन पर्ने दर्शकले अब नेपालको आफ्नै फुड रियालिटी शो हेर्न पाउने छन् ।
कार्यक्रमको को निर्णायक भूमिकामा मास्टर सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मणप्रसाद भन्डारी छन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता एवं सेलेब्रेटी जजको भूमिकामा रहेका छन् । शो को निर्माण डाइरेक्टर सिमोश सुनुवारले गर्दै छन् । ‘सेफ नेपाल’ को सेट भक्तपुर ठिमीस्थित रोयल थाइ हस्पिटालिटी भित्र रहेको छ । रोयल थाइ हस्पिटालिटी यस शो को भेन्यु पार्टनर समेत रहेको छ ।
यस कार्यक्रमको अनलाईन अडिसनमार्फत प्राप्त भएका आवेदन मध्ये ८० आवेदक छनोट गरी ‘सेफ नेपाल’ को युट्युब च्यानलमा प्रशारण गरेका छौ । लाइभ अडिसन सँगसँगै यस कार्यक्रमको छायाँकन कार्य शुरु हुनेछ ।