आन्तरिक राजस्व विभागद्धारा लक्ष्यको ९३.८२ प्रतिशत राजस्व संकलन |
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को असोज महिनामा लक्ष्यको ९३.८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा २७ अर्ब ७९ करोड ३९ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९३.८२ प्रतिशत मात्रै हो । विभागले यस अवधिमा २९ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत भदौ महिनामा विभागले लक्ष्यको ८९ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।
यस अवधिमा विभागले आयकर शीर्षकबाट ११ अर्ब ४३ करोड १३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९ अर्ब २० करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार ८०.५४ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
त्यस्तै, विभागले घरबहाल कर शीर्षकबाट २० करोड ९६ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ११ करोड ६७ लाख ५९ हजार रुपैयाँ, ब्याजबाट १ अर्ब ३५ करोड ९३ लाख ५३ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब २१ करोड १४ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागले यस अवधिमा भ्याटबाट ९ अर्ब ७ करोड ८० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ८ अर्ब ६ करोड ५६ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा विभागले अन्तशुल्क शीर्षकबाट लक्ष्य भन्दा १२८ प्रतिशत बढि राजस्व संकलन गरेको छ । विभागले अन्तशुल्क शीर्षकबाट ७ अर्ब १२ करोड २४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब ६१ करोड २२ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
यसैगरी विभागले स्वास्थ्य सेवा शीर्षकबाट लक्ष्यको झण्डै डेढ गुणा बढि राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले ३० करोड ४७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ४७ करोड १५ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार १५४.७४ प्रतिशत राजस्व संकलन भएको हो ।
विभागका अनुसार यसअवधिमा शिक्षा शीर्षकबाट पनि लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । विभागले शिक्षा शीर्षकबाट यस अवधिमा ११ करोड ७८ लाख ८२ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसअनुसार शिक्षा शीर्षकबाट १० करोड ९३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९२.७६ प्रतिशत राजस्व संकलन भएको हो ।
त्यस्तै, सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १४.८७ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्ममा सरकारले कर तथा गैरकर राजस्व गरेर कुल २ खर्ब ८ अर्व रुपैयाँ राजस्व संकलन गरेको छ ।
कर राजस्व १ खर्ब ८२ अर्ब ३८ करोड तथा गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । सरकारलाई ७९ करोड अनुदान प्राप्त भएको छ भने २२ अर्ब ७४ करोड बराबरको अन्य आम्दानी प्राप्त भएको छ ।