एक वर्षमै बीमाको पहुँच १५.८९ प्रतिशतले बढ्यो |
काठमाडौं । एक वर्षमै बीमाको पहुँच १५.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बीमाको दायरामा आएको जनसङ्ख्या (म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख सहित) १५.८९ प्रतिशतले बढेर ४४.०५ प्रतिशत पुगेको छ ।
बीमा समितिका अनुसार गत आवको भदौ मसान्तसम्म बीमाको दायरामा आएको जनसङ्ख्या (म्यादी, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख सहित ) बीमाको पहुँच २८.१६ प्रतिशतमा पुगेको थियो ।
त्यस्तै, भदौ मसान्तसम्म कुल जीवन बीमालेख ५९.३३ प्रतिशतले बढेको समितिले जनाएको छ । समितिको तथ्याङक अनुसार गत वर्षको भदौ मसान्तदेखि यस वर्षको भदौ मसान्तसम्म बीमालेख सङ्ख्या ५२ लाख १८ हजार ७७८ ले बढेको हो । गत वर्षको भदौ मसान्तसम्म कुल बीमालेख सङ्ख्या ८७ लाख ९६ हजार ८८ रहेकोमा यस वर्षको सोही अवधिमा ५९.३३ प्रतिशतले बढेर १ अर्ब ४० लाख १४ हजार ८६६ पुगेको छ ।
कुल निर्जीवन बीमालेख भने घटेको छ । गत वर्षको भदौ मसान्तसम्म ४ लाख ७३ हजार २६४ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख ५.८९ प्रतिशतले घटेर ४ लाख ४५ हजार ३६९ पुगेको छ ।
म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख सङ्ख्यामा पनि ५७.४६ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख सङ्ख्या ५३ लाख ८९ हजार ९४२ पुगेको छ भने म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या ७५ लाख ३५ हजार २७३ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सङ्ख्या ८२ लाख ८ हजार ५२५ रहेको थियो ।
त्यस्तै, वैदेशिक रोजगार बीमा सङ्ख्यामा पनि यस वर्ष ८५.४५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तसम्म ५ लाख ८७ हजार ५६३ बीमालेख रहेकोमा यस वर्ष बढेर १० लाख ८९ हजार ६५१ पुगेको छ ।
समितिका अनुसार यस अवधिमा कुल बीमाशुल्क संकलनमा पनि १.८२ प्रतिशतले घटेको । गत वर्ष ३४ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा घटेसँगै ३३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, जीवन बीमा शुल्क संकलनमा पनि ७.४८ प्रतिशतले घटेको छ । गत वर्ष भदौको मसान्तसम्म २८ अर्ब १३ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्ष २६ अर्ब ३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । निर्जीवन बीमा शुल्क संकलनमा भने २३.०७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तसम्म ६ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको यस वर्ष ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
यस अवधिमा म्यादी, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको सङ्ख्या ५१ लाख २० हजार ४४५ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहितको सङ्ख्या १ करोड २२ लाख ७८ हजार ९५४ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख सङ्ख्या ७७ लाख ९८ हजार ९९ रहेको थियो ।
साथै, म्यादी र लघु म्यादी बीमा जीवन बीमालेख सहित बीमाको दायरामा आएको जनसङ्ख्या ४०.४६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादी र लघु म्यादी बीमा जीवन बीमा लेख जनसङ्ख्या २६.१८ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
समितिका अनुसार बीमा कम्पनीहरूको कार्यालयको सङ्ख्यामा पनि ७.९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरू ३ हजार ११५ रहेकोमा यस वर्ष ३ हजार ३६२ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको सङ्ख्यामा पनि ७.०७ प्रतिशतले वृद्धि भएर ११ हजार ८८९ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरूमा ११ हजार १०४ कर्मचारी पुगेको समितिको तथ्याङ्कमा उल्लेख छ ।