बैंकहरुको निक्षेपको ब्याजदर बढेन |

काठमाडौं । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै असोज महिनाको ब्याजदरलाई नै कात्तिकमा पनि निरन्तरता दिइएको हो ।
ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैंकहरू पुगेका हुन् ।
बैंकहरुले ६ महिनादेखि स्थिर राखेको ब्याजदर असोजमा बढाएका थिए । असोजमा ११.०३% रहेको ब्याज बैंकहरुले बढाएर १२.१३३% पुर्याएका थिए ।
अब यहि ब्याजदरले कात्तिकमा पनि निरन्तरता पाउने छ । ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ। समितिले तत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले पनि अहिले ब्याजदरलाई यथावत राख्ने निश्कर्षमा बैंकरहरु पुगेका हुन्।