नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश दिने |
काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१ औं वार्षिक साधारण सभाले उक्त लाभांश सर्वसम्मतिले पारित गरेको हो ।
कम्पनीका अनुसार सेयर सदस्यहरुलाई कुल चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो । विषम परिस्थितिका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।
साधारण सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१.२५ प्रतिशत सेयर सदस्यहरुको सहभागीता रहेका कम्पनीले बताएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस वर्ष कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन् । शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं ।’
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ । त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको कम्पनीको दाबी छ ।