एक्यानको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न |
काठमाडौं । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।
शुक्रवार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आथित्यतामा दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको हो । सम्मेलनमा छुटछुटै विषय र बहसमा मुलुकमा दिगो आर्थिक विकासका विषयमा छलफल समेत गरेको छ । एक्यानका अध्यक्ष दिपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए ।
उनले नेपालको बजेट खर्च गर्ने प्रवृति समेत कमजोर गरेको भन्दै यसलाई परिर्वतन गर्ने विषयमा दिगो आर्थिक विकास सम्मेलनले एउटा डिपाचर ल्याउन सक्ने बताए । अध्यक्ष पाण्डेले दिगो आर्थिक विकासको राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासका लागि नयाँ कार्यदिशा दिने बताए । उनले एक्यान तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले भने, ‘बजेट खर्च गर्ने प्रवृति कमजोर छ । दिगो विकास सम्मेलनले डिपाचर गर्ने छ । नयाँ दिशा बनाउने कोशिस गर्ने छ । चार्टर्ड एकाउण्टेन्टसहरुले नै दिगो विकास गर्ने किन भुमिका खेल्न अगाडि बढ्ने र निजी सरकारी क्षेत्रको आर्थिक पार्दशिता बनाउनको लागि हातेमालो गर्न चाहान्छौं। एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) तीनै तहका सरकारसँग दिगो विकासको लक्ष्य पुरा गर्न हातेमालो गरेर अगाडि बढ्न चाहन्छ । यो नै संघीयतामा र संविधानको मर्म हो । अबको केही वर्षमा अर्थतन्त्रमा फड्को मार्ने छौं र गर्व महशुस गर्ने छौं ।’
त्यस्तै, कार्यक्रमका प्रमुख अथिति पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताए । उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले एक्यानले गरेरको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजना तथा कार्यान्वयनमा सहजता आउने बताए । उनले नेपालमा सबैले आफैले आफैलाई ठग्ने अवस्थामा पुगेको बताए । डा. भट्टराईले नेपाली काँग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाए । उनले देशको ठूलो लोकतान्त्रिक भन्ने पार्टी नेपाली काँग्रेसले वाग्लेलाई चुनाव लड्नेको लागि टिकट नदिएको भन्दै टिप्पणी गरे । उनले डा.वाग्ले जस्ता विद्वानहरुलाई निर्वाचन लड्नको लागि टिकट नदिए देश विकास हुन नसक्ने बताए । डा.भट्टराईले बुद्धिजीवी र विकास गर्ने विज्ञहरुलाई राजनीतिकबाट बन्चित गर्ने हो भने देश विकास गर्न सम्भव नभएको बताए । उनले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले आफूले चार्टर्ड अकाउण्टेन्ट हुने धोको पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताए । चौधरीले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताउँदै मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्तिकेन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए ।
यता,नेपाल नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले नेपालमा दिगो आर्थिक विकासको बहस हुन जरुरी रहेको भन्दै एक्यानले दिगो विकास आयोजना गरेको भन्दै खुसी व्यक्त गरीन । उनले दिगो आर्थिक विकासले विश्वमा शान्ति, मानव अधिकार,जनताको हित , आर्थिक समृद्धि,पृथ्वीको रक्षा ,लैगिंक समानता र भोकमरी तथा गरिबीको अन्त्यलाई समेट्ने बताइन । उनले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताइन । कार्यवाहक गभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि,कमजोर निर्यात,रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताइन । डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यन भएको बताइन । उनले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटेन्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिइन । पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको उनको भनाई छ । उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइनन् ।
त्यस्तै, कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भएको बताए । उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको जिकिर गरे । दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताए । उनले सरकार तथा अन्य सबै निकायलाई तीन∕चार वर्षदेखि मुलुकको जीडिपी राजश्व संकलन लगायतका हिसाबले हेर्दा कम रहेको उल्लेख गरे ।
अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताए । उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए । वाग्लले नेपालमा अबको तीन∕चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए । वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए । उनले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने प्रबृत्ति कारक रहेको बताए ।
त्यस्तै,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त शुल्क (प्रिमियम) ले समस्या आएको बताए । उनले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत बैंकले अवसरको रुपमा लिएको दाबी गरे । अध्यक्ष गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाए । उनले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए । गोल्यानले जडिबुटी,जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने उल्लेख गरे ।