साउन र भदौ दुई महिनामै भित्रिए ४१४ वटा विद्युतीय सवारी |
काठमाडौं । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ ।
साउन र भदौमा ४१४ वटा विद्युतीय सवारीको आयात भएको छ । साउनमा मात्रै यो संख्या २११ थियो । साउन र भदौमा करिब १ अर्ब १९ करोड ४३ लाख रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको छ ।
यस्तो आयातबाट सरकारले ४० करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साउन र भदौमामा १ अर्ब १३ करोड ३९ लाख मूल्य बराबरको १०० किलोवाटसम्मका ४०२ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका १० वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।
यो वर्षको आयात गत वर्षको तुलनामा २८१ प्रतिशत अर्थात् करिब तेब्बरले बढी हो । गत आर्थिक वर्ष २०७८को साउन र भदौ महिनामा १४३ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए ।
कर सुहलियतका कारण यो वर्ष सय किलोवाटसम्मका विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । बजेटले सस्ता र कम क्षमताका विद्युतीय गाडीलाई करमा बढी सहुलियत दिएकाले सोही रेन्जका बिजुली गाडीको आयात बढेको व्यापारीहरु बताउँछन् ।