राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रिया प्रति अनुप बोहराले उठाए प्रश्न |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्घीय संसद् निर्वाचनको लागि उम्मेदवार छान्न “प्रारम्भिक निर्वाचन“ प्रक्रिया आलम्बन गर्ने नीति लिएको छ । उक्त पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रिया प्रति अनुप बोहराले प्रश्न उठाएका छन् ।
नेपाली राजनीतिमा नयाँ तथा वैकल्पिक धारको आवश्यकता मध्यनजर गर्दै काठमाडौँ क्षेत्र न २ बाट अनुप बोहराले ज्येष्ठ ३० गते स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका थिए । सोही बिचमा नेपाली राजनीतिमा वैकल्पिक दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।
‘पार्टी स्थापनाको प्रथम दिन देखि नै पार्टीको हरेक नीति नियमलाई हामीले नजिक बाट नियाल्दै आइरहेको छौँ, छरिएर रहेका स्वतन्त्र हरूलाई एक बनाएर आगामी चुनावमा संलग्न हुने विषयमा कुनै विमति नराखी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा सरिक हुने हामीले निधो गरेका थियौँ ।’ बोहराले भने । उनले भने–तर आजको मितिसम्म आइपुग्दा विभिन्न चरणमा नेतृत्व तहका पदाधिकारीहरू सङ्ग भइरहेको वार्तालापमा प्रारम्भिक निर्वाचन प्रणाली प्रति निकै शङ्कास्पद अभिव्यक्तिहरू पाइरहेका छौँ । जसले प्रारम्भिक निर्वाचन प्रक्रिया लाई नै केही प्रश्नको घेरा भित्र राखिदिएको छ । हामी सार्वजनिक रूपमा प्रारम्भिक निर्वाचन प्रति केही प्रश्नहरू उठान गर्न चाहन्छौँ ।
१) अनलाइन उम्मेदवारीको आवेदन समयावधि मिति ७ असोज सम्म राखिएको थियो, यो प्रक्रियामा देशै भरिबाट आएका सबै क्षेत्रका उम्मेदवारहरूको नामावली कहिले सम्म प्रकाशित गरिनेछ कि गरिनेछैन, गरिएमा कहिलेसम्म गरिनेछ?
२) सो मोबाइल एप्लिकेशनबाट प्राइमरी निर्वाचनमा सोही निर्वाचन क्षेत्रका मतदाता कार्ड प्राप्त नागरिकहरूले मात्र भोट गर्न पाउने हो कि मतदाता कार्ड नभए पनि नेपाली नागरिकता मात्रै भएमा पनि भोट गर्न पाउने हो ?
३) सो मोबाइल एप्लिकेशनबाट निश्चित क्षेत्रका उम्मेदवारलाई सोही क्षेत्रका मतदाताले मात्र भोट गर्न पाउने हो वा सम्बन्धित जिल्लाभरिका सबैले वा देशै भरिका सबैले मतदान गर्न पाउने हो ?
४) निर्वाचन अघि त्यो मतदाता नामावली कहिले कतिखेर सार्वजनिक गरिनेछ वा छैन, गरिने भए कहिलेसम्म ?
५) भोटिङ कुन मितिदेखि कुन मितिसम्म हुनेछ ?
अरू पनि धेरै प्रश्नहरू छन् । जुन राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक रूपमा जवाफ दिनु पर्ने बोहराको भनाई छ । पुरानै पार्टी प्रवृत्ति आलम्बन गरी प्रारम्भिक निर्वाचनका नाममा कसैलाई काखा कसैलाई पाखा नगर्न समेत उनले माग गरेका छन् ।