सञ्चार प्रतिष्ठानलाई तोकिएको पारिश्रमिक र सेवा सुविधा तत्काल दिइ समस्या समाधान गर्न समितिको अनुरोध |
काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुले पारीश्रमीक नपाएको कुरालाई सञ्चार प्रतिष्ठानहरुलाई तत्काल समस्या समाधान गर्नका लागि अनुरोध गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै समितिले सञ्चार प्रतिष्ठानहरुलाई तत्काल समस्या समाधान गर्नका लागि अनुरोध गरेको हो ।
समितिले जारी गरेको विज्ञप्तिमा सञ्चार प्रतिष्ठानमा रहेको पारिश्रमिक र अन्य सेवा सुविधाको समस्यालाई सदाका लागि अन्त्य गर्न जरुरी रहेको बताइएको छ । मझेरीमा आइरहेका नेपालीहरुको महान् पर्व दशैं, तिहार, नेपाल संवत, छठजस्ता चाडपर्वको सम्मुखमा कतिपय प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारले महिनौँदेखि पारिश्रमिक नपाएको उजुरी समितिसमक्ष आइपुगेको र समस्या रहेका सञ्चार प्रतिष्ठानहरुलाई तत्काल समस्या समाधान गर्नका लागि समेत सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरिएको छ ।
अन्य क्षेत्रका मानिसले भोगेका शोषण, अन्यायका कथालाई आम मानिससम्म पु¥याउने सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी र कामदारमाथि अन्याय हुने कुरा स्वयं पीडितका लागि मात्र नभै सञ्चार माध्यमका सञ्चालकहरुका लागि पनि लज्जाजनक विषय भन्दै सञ्चार प्रतिष्ठानहरु सहज रुपमा टिक्नका लागि व्यवस्थापनको पाटो पनि मजबुत हुन जरुरी रहेको भन्दै कोरोना जस्ता विभिन्न महामारी वा प्रकोपहरुमा थलिएका सञ्चार माध्यमलाई टेवा पुर्याउन सरकारले बेला बेलामा राहत÷सहुलियत ऋण प्रदानजस्ता कार्यक्रममार्फत सहयोग गरेको पनि अध्यक्ष संगीता खड्काद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा आफैँले अहोरात्र खटाएका श्रमजीवीलाई तोकिएबमोजिमको पारिश्रमिक र अन्य सेवा सुविधा नदिएर सञ्चार प्रतिष्ठान सञ्चालकहरुको इज्जत, प्रतिष्ठा बढ्दैन, बरु आवाजविहीनहरुको आवाज बोल्ने सञ्चार प्रतिष्ठानहरु श्रमशोषण मुक्त छन् भन्नेसन्देश दिँदा इज्जत, प्रतिष्ठा बढ्दछ भनिएको छ। समितिले श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले समयमै र तोकिएबमोजिम तलव नपाएको गुनासो अबका दिनमा कहिल्यै सुन्न नपर्ने गरी यस्ता मुद्दा सुल्झाउन सम्बन्धित सञ्चार प्रतिष्ठानका सञ्चालकहरुलाई आव्हान गरेको छ ।