जलविद्युत र पर्यटनमा लगानी भित्र्याउन इन्डोनेशियाका राजदुतलाई प्रधानमन्त्री देउवाको आग्रह |

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्।
मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरू हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गरेका हुन्।
देउवाले इन्डोनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गरेका छन्।
भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको
बताउँदै नेपालका प्रधानमन्त्रीको सन्देश इन्डोनेशिया सरकारसँग पुर्याइदिने बताएका थिए।