बैंकहरुले किन दोर्याएर सार्वजनिक गर्न थाले ब्याजदर ? |
काठमाडौं । बैंकहरुले धमाधम दोर्याएर ब्याजदर सार्वजनिक गर्न थालेका छन् । असोजको लागि केही बैंकहरुले ब्यजादर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुसरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका हुन् ।
गत भदौ ३१ धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३ % ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केहि बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए । जसअनुसार केही बैंकले १२.१३३ % ब्याजदर कायम गरेका थिए ।
केही बैंकले ब्याजदर निर्धारणमा चलाखी गरेसँगै निक्षेप खोसिने डरमा अहिले बैंकहरुले धमाधम दशमलवपछि ३ अंक राख्दै ब्याजदर सार्वजनिक गरेका हुन् । बुधबारमात्रै आधा दर्जनभन्दा बढी बैंकले दशमलवपछि ३ अंक राखेर दोर्याएर ब्याजदर प्रकाशित गरेका छन् ।
बुधबार हिमालयन, मेगा, लक्ष्मी, प्रभु, सिभिल, स्ट्यान्डर्ड चाटर्डलगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।