बैंकहरुको निक्षेप संकलन बढ्न थाल्यो, ३ सातामा ४४ अर्ब पैसा बैंकमा थपियो |
काठमाडौं । बैंकहरुमा निक्षेप संकलन ह्वातै बढ्न थालेको छ। गत तीन सातायता बैंकहरुमा निक्षेप संकलन लगातार बढ्दो अवस्थामा देखिएको छ।
भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुमा भदौ ३० गतेसम्ममा निक्षेप संकलन बढेर ४४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्ष सुरु भएपछि भदौ पहिलो सातासम्ममा बैंकहरुको निक्षेप करिब डेढ खर्ब रुपैयाँले घटेको थियो। तर भदौ दोस्रो साताबाट भने बैंकहरुको निक्षेप घट्ने क्रम रोकिएको छ। भदौ १० गतेयता बैंकहरुको निक्षेप संकलन ४४ अर्ब रुपैयाँले बढेको छ।
निक्षेप संकलन बढेपनि कर्जा लगानी भने खासै बढेको छैन। समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ। भदौ १० गतेसम्ममा ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ ३० गतेसम्ममा ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा दिएका छन्।
पछिल्लो समय निक्षेप संकलन बढेपछि बैंकहरुमा लगानीयोग्य रकम समेत बढ्न थालेको बैंकरहरु बताउछन्। असोजदेखि निक्षेपमा ब्याज बढेकोले निक्षेपकर्ता अझै आकर्षित हुने उनीहरुको आँकलन छ।
निक्षेप संकलन बढ्दै जाँदा बैंकहरुको सिडि रेसियो पनि घट्दै गएको छ। सिमा नजिक रहेका अधिकाँश बैंकहरुको सिडि रेसियो विस्तारै तल झर्न थालेको छ। अहिले बैंकहरुको औसत सिडि रेसियो नै ८८ प्रतिशतभन्दा तल झरेको छ। केन्द्रिय बैंकको तथ्याँक अनुसार भदौ ३० गतेसम्ममा बैंकहरुको औसत सिडि रेसियो ८७.८९ प्रतिशतमा झरेको
बैंकहरुमा निक्षेप बढेपछि राष्ट्र बैंकलाई तिर्ने सापटी पनि घटेको छ। केहि साता अघिसम्म झण्डै २ अर्ब रुपैयाँ पुगेको सापटी अहिले १ अर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ। यसमा पनि केन्द्रिय बैंकले बिहीबार मात्रै ४० खर्ब रुपैयाँको रिपो जारी गरेर बैंकहरुलाई ४० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो।