परियोजना बैंक निर्देशिका सार्वजनिक, डिजिटल माध्यमबाट एकद्धार सेवाको शुभारम्भ |
काठमाडौं । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले उक्त निर्देशिका बुधबार सार्वजनिक गरेका हुन् ।
लगानी बोर्डद्वारा आयोजित ‘सस्टेनेबल इन्फ्राइट्रक्चर इन्भेष्टमेन्ट फोरम, २०२२’ उद्घाटनका क्रममा लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको ‘वन स्टप सर्भिस डिजिटल सिस्टम’को पनि शुभारम्भ भएको छ । उक्त डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई छिटो्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।
उद्घाटन सत्रका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘इस्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल’ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेका छन् । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको बताए । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताए । उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई प्रधानमन्त्री देउवाले आह्वान पनि गरेका छन् ।
लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू गर्दै आएको छ । बोर्डले रोड शो, परियोजना शोक्यासिङ तथा लगानी सम्मेलन आयोजना गर्दै आएको छ । समारोहपश्चात् समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।