पहिलो नाडा इभी एक्स्पोमा ५१ स्टल रहने, आगन्तुकलाई दुईथरी टिकटको व्यवस्था |
काठमाडौं । नेपालकै पहिलो नाडा इभी एक्स्पो, २०२२ मा दुई पाङ्ग्रे सहित चार पाङ्ग्रे र अन्य अटो कम्पोनेन्ट गरी कुल ५१ स्टल रहने भएका छन् । एक्स्पोबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ७ वटा ब्रान्डका चार पाङ्ग्रे, एउटा तीनपाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवम् अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुले गरी कुल ५१ कम्पनीको सहभागिता रहने जनाएको हो ।
यही असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चारदिन चल्ने इभी शो मा ४० हजार अवलोकनकर्ताहरुले एक्स्पोको अवलोकन गर्ने अपेक्षा नाडाले लिएको छ । अवलोककर्ताहरुका लागि नाडाले दुई किसिमको पास (टिकट) को व्यवस्था गरेको छ । फुल टिकटका लागि प्रतिटिकट २०० रुपैयाँ तोकेको नाडाले विद्यार्थीका लागि प्रतिटिकेट १५० रुपैयाँ तोकेको छ ।
उसो त यसपटक अनलाइनबाटै टिकट काट्ने सुविधा प्रदान गरेको नाडाले असोज पाँच गतेसम्म अग्रिम टिकट काट्नेलाई २० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । थप अनलाइनबाट टिकट काट्ने क्यास ब्याक स्वरुप २५ रुपैयाँ समेत फिर्ता पाउने आयोजक नाडाले जनाएको छ ।
अनलाइन टिकट साझेदारको रुपमा नाडासँग ‘खल्ती पे’ ले सहकार्य गरेको छ । चार दिनसम्म चल्ने ‘इभी शो’ मा नाडाले यूएसआइडी क्लिन एयरसँगको सहकार्यमा इभी चौतारी नामक सूचनामुलक गोष्ठी समेत चलाउने भएको छ । यस्तो गोष्ठीले इभीको प्रयोगसँगै वातावरण सुधारका प्रयासहरूमा थप सहयोग पुग्ने आयोजक नाडाको अपेक्षा रहेको अध्यक्ष ध्रुव थापाले बताए ।