केन्द्रीय बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्दै |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रुपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।