नबिल बैंक र युनिलिभरबीच च्यानल फाइनान्सिंगकालागि सम्झौता |
काठमाडौं। नबिल बैंक र युनिलिभर नेपाल लिमिटेडबीच 'च्यानल फाइनान्सिङ' सुविधाका लागि सहकार्य भएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले उक्त सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौता हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिंग सुविधाकालागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।
यस अन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यकालागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैंभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिंग कर्जा उपभोग गर्न पाउने छन् । च्यानल फाइनान्सिंगका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।
युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यकालागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिंग सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।