गुरुङ्ग लाई पक्राउ गरिएकोमा नेपाल श्रमिक आपूर्तिकर्ता संघको आपत्ती |
काठमाडौं । नेपाल श्रमिक आपूर्तिकर्ता संघले १७ भदौ शुक्रबार ठमेल, काठमाण्डौस्थित छायाँ सेन्टरमा अवस्थित क्यानेडियन भिएफएसको भिसा सेन्टरमा आवेदनका लागि बायोमेट्रिक दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री जीवनराम श्रेष्ठलाई संघको सदस्य संस्था गरुड सेक्यूरिटीजमार्फत् उक्त स्थानमा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङ्गले मुख्य रोजगारदाताको निर्देशन मुताबिक मन्त्रीलाई समेत लाईनमा बसी आफ्नो पालो पर्खिदिन आग्रह गर्दा विवाद भई मन्त्रीको उजुरी पश्चात् निजलाई प्रहरीले पक्रेर नियन्त्रणमा लिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुरक्षा गार्डको पेशागत काम, कर्तब्य र अधिकारलाई विश्वव्यापी रुपमा नै सम्मान र कदर गर्ने गरिन्छ भन्दै संघले सुरक्षा जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गरी गणतान्त्रिक मुलुकका मन्त्री जस्तो उच्च पदस्थ व्यक्तित्वबाट यस्तो अशोभनीय विषयवस्तु उठान हुनुले सार्वभौम नेपाली जनताप्रति ठेस पुग्नु स्वाभाविक भएको जनाएको छ । यस खबरले श्रमिक आपूर्तिकर्ता र समग्र श्रमसँग आवद्ध संस्था मर्माहत र स्तब्ध भएको संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
मन्त्री जस्तो उच्च शासकीय पदमा रहने व्यक्तित्वबाट नेपाली जनताले सादगी जीवनशैली, उच्च विचार र सम्पूर्ण नेपाली जनताप्रति गहिरो सम्मानको प्रत्याभूती हुने आशा गर्नु स्वाभाविक हो भन्दै त्यस विपरित निर्देशनको पालना गरिरहेको एउटा कर्मशील श्रमिक (सुरक्षागार्ड) लाई आफ्नो कर्तव्यपालना गर्दा गर्दै प्रहरी हिरासत पु¥याइनु दूर्भाग्यपूर्ण भएको संघका अध्यक्ष रामेश्वर शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ ।
साथै संघले निष्पक्ष अनुसन्धान र छानबीन गरी सत्य तथ्य सार्वजनिक गर्न र दोषी उपर कारवाहीको माग गर्दै पीडित सुरक्षाकर्मीलाई अविलम्ब रिहाई गर्न अपील समेत गरेको छ ।
यसैबीच संस्कृति मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।
सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा हेरेर साधारण तारेखमा छाड्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न प्रजिअ रिजाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीले गृहमन्त्रीलाई भनेको बताएको थियो ।
शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।