एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा |
काठमाडौं । एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो । यद्यपि, हाललाई कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा प्रति प्रदेश एक/एक महिला ब्रान्च घोषणा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा एक–एक वटा महिला ब्रान्च घोषणा गरे । यी ब्रान्चहरुमा ब्रान्च म्यानेजरदेखि सम्पूर्ण स्टाफ महिला मात्र हुनेछन् ।
घोषणा अनुसार बागमती प्रदेशकोे बल्खु ब्रान्चमा प्रफुल्ला मानन्धर ब्रान्च म्यानेजर रहेकी छन् भने प्रदेश नम्बर १ को ब्रान्च म्यानेजर टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा शाखामा मालिका ठाकुर, गण्डकी प्रदेशको चौथो शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा सिता भुसाल र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा नन्दकुमारी भण्डारी ब्रान्च म्यानेजर रहेकी छन् ।
कर्णाली प्रदेशमा भने तीनवटा मात्र ब्रान्च रहेकोमा हाललाई महिला ब्रान्ड नतोकिएको बैंकले जनाएको छ । हाल एनएमबी बैंकले देशैभरी २०१ शाखा कार्यालय रहेका छन् ।