सरकारले खारेज गर्यो अजय सुमार्गीको टेलिकम कम्पनी ‘हेलो नेपाल’ |
काठमाडौं । लामो समय बक्यौता नतिरेपछि अन्तत सरकारले हेलो नेपालको लाइसेन्स खारेज गरेको छ । गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नै हेलो नेपाल खारेज गरेको हो ।
विगत ५ बर्षदेखि हेलाे नेपाल स्याटेलाइट टेलिकमले युनिफाइड लाइसेन्स बापतको नविकरण दस्तुर, फ्रिक्वेन्सी, रोयल्टी लगाएत विभिन्न शीर्षकमा झन्डै एक अर्ब रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ ।
नेपाल दूर सञ्चार प्राधिकरणका एक अधिकारीले गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गरेको बताए ।
‘गत बिहिबार बसेको क्याबिनेटको बैठकले लाइसेन्स खारेज गरेको जानकारी आएको छ तर, प्राधिकरणमा हालसम्म कुनै पत्र आइसकेको छैन’ ।
हेलो नेपालको लाइसेन्स २०७६ भदौमापनि नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो । तर, सरकारसँग पुनरावलोकन निवेदन दिएर तत्कालिन केपी शर्मा ओलीको सरकारले जोगाउँदै ५ बर्षे किस्ता सुविधा दिएको थियो ।
किस्ता सुविधा दिए पनि हेलाे नेपालले हालसम्म कुनै रकम बुझाउन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग निकट रहेका व्यवसायी अजय सुमार्गीको कम्पनी हेलो नेपाल अहिले सञ्चालनमा छैन ।
तर, सञ्चालनमा नभएपनि शक्तिको आडमा टेलिकमको लाइसेन्स र फ्रिक्वेन्सी होल्ड गरेर बसिरहेको छ ।