वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त |
काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो। उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।
सिफारिस भएका तीनै जनाले नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक लबिइङ गरिरहेका थिए।
कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । २० जेठमा पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो ।
आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवारहरु मात्र छानिएको थियो । प्रारम्भिक सूचीमा बाराका निर्मलकुमार उप्रेती र डा. द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठ थिए ।