नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल |

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हाे । उनी अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष हुन्।
नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध एक सफल व्यवसायी हुन्। उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकि छिन् ।
सन् २०२१/०२२ को अध्यक्ष अमुन थिए ।
मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) निर्वाचित भएका छन्।
यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताएकि छिन्। “सबैका लागि अनुकूल नीतिहरूको वकालत गरी नेपालको अर्थतन्त्रको विकास र निर्माणमा हामी लाग्नेछौं” उनले भनिन्।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल थिए। अग्रवाल हाल नेपाल उद्योग परिसंघको अध्यक्ष छन्। युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको सफल कार्यक्रम संचालन गरेको थियो । उक्त फेस्टमा ७ वटा स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेका थिए ।