निर्वाचनमा विदेशी गाडी प्रयोग गर्न नपाईने, वार्षिक आयव्यय विवरण पनि अनिवार्य बुझाउनु पर्ने |
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुन लागेको निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने प्रस्ताव गरेको छ । आयोगले आज (सोमबार) राजनीतिक दलहरूसँग गरेको छलफलमा सो विषय प्रस्तावका रुपमा राखेको हो । निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारीसाधनलाई अनुमति नदिने प्रस्तावमा उल्लेख छ ।
खासगरी भारतीय सीमासँग जोडिएका प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले सो प्रस्ताव ल्याएको हो । ती क्षेत्रमा यसअघिका निर्वाचनहरूमा पनि सीमावर्ती जिल्लाहरुमा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुने गरेको छ ।
यस्तै, निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई मंसिर ४ गते हुने निर्वाचनमा सहभागी नगराउने जनाएको छ । अयोगले दलहरुले आय व्यय विवरण नबुझाएको पाइएमा आयोगले पुनः माग गर्ने र माग गर्दा पनि नबुझाएको अवस्थामा निर्वाचनमा भाग लिन नदिने जनाएको छ ।
हाल निर्वाचन आयोगमा हाल १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि भने ८४ वटा दल मात्रै दर्ता भएको जनाएको छ ।