फोहोर व्यवस्थापनमा सबै मिलौँ ː सहरी मन्त्री चौधरी |

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर मैला व्यवस्थापनमा सबै पक्ष मिल्न जरुरी रहेको धारणा राखेका छन् ।
बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सन्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।
फोहोर मैला व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने भन्दै मन्त्री चौधरीले भने, ‘स्थानीय जनता, जनप्रतिनिधि, काठमाडौँ, धादिङ र नुवाकोटका निर्वाचित सांसद, फोहोर व्यवस्थापन विज्ञहरु जम्मैको प्रयासमा समस्या समाधान गरौँ ।’
मन्त्री चौधरीले सांसद गगन थापा संयोजक रहनेगरि अनुगमन समिति बनाउने प्रस्ताव समेत गरेका थिए । मन्त्रीको प्रस्ताव लगत्तै सांसद थापाले काठमाडौँ, धादिङ र नुवाकोटका सांसदको भेलाबाट संयोजक तोक्न सकिने धारणा राखेका थिए ।
मन्त्रालयले आयोजना गरेको बैठकले नेपवेस्ट सम्झौतामा थप छलफल गर्न सिफारिस गर्ने, अनुगमन तथा सहजीकरण समिति बनाउने र फोहोर मैला व्यवस्थापनमा उपलब्ध नयाँ प्रविधि सम्बन्धि अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा सांसद गगन थापा, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल, काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिवेशी नगरपालिकाका प्रशासकीय प्रमुख अच्युतराज रेग्मी, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, फोहोर व्यवस्थापन विज्ञ महेश नकर्मी, सिसडोलबासीका तर्फबाट श्रीराम ढुङ्गाना लगायतले आआफ्ना धारणा राखेका थिए ।