नेपाल म्यानमार चेम्बरको अध्यक्षमा शिवकुमार अग्रवाल |

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
राजधानीमा सम्पन्न संघको १२ औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ भने संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा निर्वाचित भए।
यस्तै, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्वाचित भए।
संघको सदस्यहरुमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सृजना सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्वाचित भएका छन्।
संघका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन्।
कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत यु सेन ओले म्यानमारको यांगुनबाट नेपाल उडान गर्ने तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए।
साधारणसभालाई सम्बोधन गर्दै उनले याङ्गुनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान सञ्चालनका लागि म्यानमार सरकारलाई प्रस्ताव पठाइएको बताए।
म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकास गर्ने प्रचुर सम्भावना रहेको बताए। उनले म्यानमारमा रहेका नेपाली समुदाय दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए।
निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने उनको भनाइ छ।
संघले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न दुवै देशका सरकारलाई सिधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेको छ।
‘हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ’, संघका अध्यक्ष शिवकुमार अग्रवालले भने, ‘दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ।’