नेपाल बैंकका अध्यक्ष ज्ञवालीले लिए शपथ |
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले शपथ लिएका छन् ।
राष्ट्र बैंकमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ज्ञवालीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । बैंक सञ्चालक समितिको २३ साउनमा बसेको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए ।
पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष ज्ञवालीले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराए ।