राष्ट्रपति भण्डारीद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरास्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् ।
“राष्ट्रपतिज्यू केवलकारबाट सराङकोटसम्म पुग्नुभयो,” अन्नपूर्ण केबलकारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, “माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो ।”
पोखराको सेदीबगरमा रहेको स्टेशनबाट सराङकोटसम्म पुग्न सकिने यस केवलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि सहभागिता थियो ।
अन्नपूर्ण केबलकार पुगेकी राष्ट्रपतिलाई त्यहाँका कर्मचारीले स्वागत गरेका थिए । सराङकोटमा पोखराका मेयर आचार्य, केबलकारका प्रबन्ध निर्देशकलगायतले केबलकार, त्यस वरपरका मनोरम हिमाललगायतका बारेमा जानकारी गराएका थिए ।
“राष्ट्रपतिज्यूले चासोसाथ हाम्रा कुराहरु पनि सुन्नुभयो,” पौडेलले भने, “करिब आधाघण्टाको बसाइपछि उहाँ फर्किनुभयो ।” सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायतका थुप्र्रै मनोरम हिमाल हेर्न सकिन्छ ।