विकास बैंकहरुको नाफा २६.८८% ले बढ्यो, प्रमुख सूचकहरुमा कुनको अवस्था कस्तो ? |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ वटै विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विकास बैंकहरुको खुद नाफा समग्रमा २६.८८% ले बढेर ६ अर्ब ९६ करोड १२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा यी बैंकहरुले ५ अर्ब ४८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
जसमध्ये राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ६ अर्ब ६२ करोड र क्षेत्रीयस्तरका बैंकको नाफा ३३ करोड ३४ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा विकास बैंकहरुको पुँजी १५.७३% ले बढेर ३६ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ पुगेको छ । राष्ट्रियस्तरका विकास बैंकहरुको पुँजी समग्रमा ३१ अर्ब ७३ करोड र क्षेत्रीय स्तरका विकास बैंकको ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
यस अवधिसम्म राष्ट्रियस्तरका विकास बैंकको १० अर्ब ८८ करोड ७२ लाख र क्षेत्रीयस्तरका विकास बैंकहरुको १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ गरी कुल १२ अर्ब १६ करोड ९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा भएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा २४.४७% ले धेरै हो ।
त्यस्तै, विकास बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । १४ अर्ब ६३ करोड ९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २४.४६% ले बढेर यस अवधिसम्म १८ अर्ब २१ करोड ३ लाख रुपैयाँ पुगेको छ । विकास बैंकहरुको वितरणयोग्य नाफा भने घटेको छ । ४ अर्ब ५० करोड ७९ लाख रुपैयाँ रहेको विरणयोग्य नाफा अहिले १३.७३% ले घटेर ३ अर्ब ८८ करोडमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा दुवै स्तरका विकास बैकहरुको वितरणयोग्य नाफा घटेको छ ।
राष्ट्रियस्तरको ३.५९% र क्षेत्रीयस्तरको १३१.६६% ले वितरणयोग्य नाफा घटेको हो । अधिकांशको खुद नाफा, रिजर्भ कोष, खुद ब्याज आम्दानी तथा प्रतिसेयर आम्दानीमा सुधार भएको छ भने वितरणयोग्य नाफा केही घटेको छ । अधिकांश सूचकमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक अगाडि रहेका छन् ।