स्वच्छ व्यवसाय समूहले मनायो २५ औँ रजत वर्ष | बस्तुको गुणस्तर र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढ्न मन्त्री रेग्मीको आग्रह
काठमाडौं । स्वच्छ व्यवसाय समूह नेपालले आफ्नो स्थापना दिवसको रजत वर्ष मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा बत्ती बालेर रजत वर्षको उद्घाटन गरेकी हुन् ।
मन्त्री उमा रेग्मीले समूहको २५ वर्षको उपलक्ष्यमा प्रकाशित स्मारिकाको पनि विमोचन गरेकी छिन् । समारोहमा स्वच्छ व्यवसायका १० वटा सिद्धान्तमा आधारित फोटो प्रदर्शनी गरिएको थियो । सो अवसरमा मन्त्री रेग्मीले स्वच्छ व्यवसाय समूहका संस्थापक अध्यक्ष मिरा भट्टराई लगायत पूर्व अध्यक्ष पद्मासना शाक्य, किरण बहादुर खड्गी, चन्द्र प्रसाद कक्षपति, चित्र बहादुर केसी, संरक्षक लीलामणि पोखरेललाई कदर प्रदान समेत गरेकी छिन् ।
मन्त्री रेग्मीले उद्यमशीलताको विकासमा आयात होइन निकासी बढाउनुपर्दा हामीसँग प्रशस्त कमी कमजोरी रहेको बताइन् । अन्तर्राष्ट्रिय बजारमा माग भएका बस्तुको गुणस्तर र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउन बढाउन नसकेकोले निकासी कम हुँदै गएको उनको धारणा थियो । खाद्यान्नमा पनि उद्यमशीलता विकास गरी आत्मनिर्भर हुन सक्ने सम्भावना छ तर शुद्धतामा ध्यान दिनुपर्ने उनले बताइन् ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेले दिगो उद्यमशीलताको विकासको नमुना स्वच्छ व्यवसायले देखाएको बताए । यो संस्थाले महिला उद्यमी तथा साना उद्यमीको उत्पादन र बजार व्यवस्थापनमा पुर्याएको योगदान उच्च रहेको धारणा राखे । ‘उद्यमशीलता विकास भनेको उद्योग सञ्चालन गर्ने व्यक्तिको क्षमतामा निर्भर रहन्छ, संस्थागत रूपमा अघि बढ्नुपर्ने हुन्छ । त्यहाँ मात्र दिगो विकास सम्भव रहन्छ । कोभिडका कारण माग बढेको, भ्याक्सिन र मेडिकल सामाग्री मात्रै ५० अर्ब भन्दा बढी आयात गर्यौं, पेट्रोलियम पदार्थको अत्यधिक खपतले व्यापार असन्तुलन बढाएका छ’, उनले भने ।
यस्तै, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले हामी औद्योगीकरण तर्फ उन्मुख भइरहेको बताए । नेपालमा विप्रेषणका कारणले अहिलेसम्म सङ्कट आएको छैन तर समयमा नै विचार नगर्ने हो भने स्थिति नराम्रोसँग बिग्रन सक्ने चेतावनी पनि उनले दिए ।
‘औद्योगीकरण नभई आर्थिक उन्नति हुनै सक्दैन । हामीले यो पथलाई त्यागेर व्यापारतर्फ लागेका छौ । यसमा नेपालीको दोष छैन, प्रणालीमा दोष छ । सरल बाटोमा लागेर कमाउन खोज्दा आयात बढेको छ’, उनले भने ।
त्यसैगरि, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यति वेला नेपालको उद्योग क्षेत्र सुखद नरहेको बताए । उनले आर्थिक विकासमा उद्योग वाणिज्य क्षेत्रका योगदान बढ्न नसकेको जनाउँदै भने, ‘अहिले बैङ्किङ क्षेत्रमा तरलताको अभाव छ । मौद्रिक नीतिले तरलताको माग नै गर्न नसकिने वातावरण बनाई दिएको छ । यो स्थिति लम्बिँदै गएमा अर्थतन्त्रका लागि गम्भीर असर पर्न जाने देखिएको छ ।’
उता, स्वच्छ व्यवसाय समूहका अध्यक्ष सुनिल चित्रकारले समूहको २५ वर्षको यात्रा उत्साहपूर्ण रहेको बताए । साथै उनले यस समूहले सयौँ उद्यमी जन्माएको र हजारौँ सङ्ख्यामा रोजगारी दिएको बताए । हाम्रो भनेको हाम्रै हो भन्ने नारालाई दिगो रूपमा उठाउन सकेको उनले धारणा राखे ।
उद्यमशील परिस्थितिक तन्त्र (इको सिष्टम) निर्माणलाई मुख्य मुद्दा उठाउँदै यस समूहले आफ्नो कार्यक्रमलाई अघि बढाएको छ । यस क्रममा सोमबार काठमाडौंमा उद्यमशील इकोसिस्टम अर्थात् इन्टरप्रेनियर इकोसिस्टम विषयमा सम्बद्ध निकायहरू बिच बृहत् छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपालमा भइरहेको उत्कृष्ट व्यावसायिक अभ्यासबारे अनुभव आदान प्रदान, नेपालमा पनि उद्यमशील इकोसिस्टम प्रवर्द्धनका लागि प्रारम्भिक छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त छलफलमा सरकारी प्रतिनिधि, निजी क्षेत्र, महिला उद्यमी, गैरसरकारी संस्था, शैक्षिक क्षेत्रका गरी करिब एक सय जनाको सहभागिता रहेको थियो । प्राविधिक र औपचारिक गरी दुई चरणमा सम्पन्न भएको यो कार्यक्रममा इन्टरप्रिनियर इकोसिस्टम अवलम्बनमा सरकारी क्षेत्रको भूमिका, यसको शुरुवातका लागि प्रक्रियागत चरण र यसले पार्ने सामाजिक प्रभावकारिताका विषयमा औपचारिक छलफललाई नै स्वच्छ व्यवसाय समूहले आफ्नो २५ वर्षको प्रमुख एजेन्डाको रूपमा उठाएको छ ।
प्रा. डाक्टर पुष्कर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको बृहत् छलफल कार्यक्रमका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद दुवाडीले उद्यमशील इकोसिस्टममा सरकारी भूमिकाबारे धारणा राखे । उनले आर्थिक उदारीकरण पछि उद्यमशीलता विकासमा सरकारको भूमिका र जिम्मेवारीबारे अलमल परेको बताए । प्रदेश सरकार र केन्द्रीय सरकारको बजेट र कार्यक्रममा दोहरोपन आइरहेकोले उद्यमशीलताका विषयमा बाढी नै आएको तर यसमा नयाँपन आउन नसकिरहेको उनको धारणा थियो ।
डा. रोजी जोशीले जलवायु परिवर्तन र दिगो विकासबारे प्रकाश पार्दै जलवायु परिवर्तनले अहिलेको सिजनल क्यालेन्डरलाई नै परिवर्तन गरी दिएको बताइन् । जसले गर्दा साना तथा मझौला उदोगहरुको लागत र कच्चा पदार्थको उपलब्धतामा नै प्रभाव पारेको उनका भनाई छ ।
नेपाल आर्थिक मञ्चका मार्क पेरिमले विगत २५ वर्षमा सर्कुलर इकोनोमीको विषयमा धेरै कुरा भए पनि नेपालमा खेर जाने पदार्थको उचित सदुपयोग, उद्योग सञ्चालनमा प्राविधिक क्षमता र ज्ञान बढ्न नसकेको जानकारी गराए । हिमालयन प्लास्टिकका डेबिट शर्माले सर्कुलर इकोनोमीबारे जानकारी गराउँदै पोखरामा प्लास्टिक वोटल रिसाइकलिङ सञ्चालन गर्दै आएको जानकारी गराउँदै रिसाइकलिङ उद्योगमा नीतिगत प्रावधान नहुँदा यसले व्यावसायिकता लिन नसकेको बताए ।
डा. जितेन्द्र डंगोलले सामाजिक मुद्दामाथि छलफल गर्दै सामाजिक व्यवसाय सञ्चालन गर्ने कम्पनीहरूमा नै अन्यौलता भएको धारणा राखेका थिए । गैरनाफामूलक संस्थाको सञ्चालन प्रक्रिया र दर्ता प्रक्रियामा नै विरोधाभासपूर्ण रहेकोले यसबारे स्पष्ट नीति हुनुपर्ने धारणा उनको रहेको छ ।
नविल बैंकका प्रतिनिधि सुदिप शाक्यले नविल बैंकले सामाजिक व्यवसायमा काम गर्दै आएको बताए । नीति निर्माताहरुले चालु आर्थिक वर्षहरूको मौद्रिक तथा बजेटहरूमा पनि उद्यमशीलता विकासका लागि विशेष ध्यान दिन थालेको उनले बताए । विभिन्न मन्त्रालयहरूले पनि उद्यमशीलता विकास, रोजगारी सिर्जना, युवा रोजगार, महिला उद्यमशीलता, वित्तीय र बजार पहुँच पु¥याउन बजेट र कार्यक्रम छुट्टाउँदै आएको उनले बताए ।