प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय | कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी
काठमाडौं । सरकारले संघीय निर्वाचन आगामी मंसीर ४ गते गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् । तर उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउनेछन् ।
स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् । तर त्यसपछि एक रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा अस्थायी मतदातालाई मतदानको व्यवस्था गर्न नसके पनि अब सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्न तयारी गर्ने बताएका हुन् ।