महिला लघुवित्तको नाफामा आकर्षक बढोत्तरी |
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको आन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ ।
खुद नाफा ६१.४३% ले बढेर १५ करोड ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो। यस लघुवित्तले पर्याप्तमात्रामा खराब कर्जा उठाउन सफल भएकाले नाफामा सुधार देखिएको हो । यसले १५ करोड १४ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा महिलाको रिजर्भ कोषमा पनि सुधार भएको छ । यसको रिजर्भमा २९ करोड ८३ लाख रुपैयाँ रहेको छ । महिलाको कस्ट अफ फन्ड र खराब कर्जा दुवै बढेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।