काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाकाे शव फेला |

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ स्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जनाको शव फेला परेको छ । काभ्रेस्थलीमा एकै परिवारका श्रीमान्, श्रीमती र दुई छोरा छोरी गरी चार जनाको शव फेला परेको हो ।
तारकेश्वर नगरपालिकाको उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालले गोरखा भीमसेन गाउँपालिका–६ स्थायी घर भई हाल काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता पाण्डे, १३ वर्षीय छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको शव फेला परेकाे बताइन् ।
उनले भनिन्, ‘मृत अवस्थामा फेला परेका एकै परिवारका श्रीमान्, श्रीमती र दुई छोराछोरी हुन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
उपप्रमुख बुर्लाकोटीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा चार जना मृत अवस्थामा भेटिएका छन् । ‘दुई छोराछोरी र श्रीमतीको शव एउटा कोठामा रहेको छ भने दिनेशको शव अर्को कोठामा फेला परेको छ । तीन जनाको शव भुँईमा र दिनेशको शव झुण्डिएको अवस्थामा छ’, उनले भनिन् ।
अहिले घटनास्थलमा उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली पुगेर थप अनुसन्धान गरिरहेको उपप्रमुख बुर्लाकोटीले जानकारी दिईन् ।